धनगढी: धनगढी जेनजी आन्दोलनपछि ध्वस्त बनेका संरचनाहरू पुनर्निर्माण गर्न सबै नेपालीले दुई दिन श्रमदान गर्नुपर्ने धारणा धनगढी उपमहानगरपालिका वडा नं। १२ का अध्यक्ष सेर शहादुर महराले व्यक्त गरेका छन्। उनका अनुसार परिवर्तनका लागि जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने प्रयास गरे पनि विभिन्न घुसपैठका कारण सरकारी तथा निजी संरचना भत्किन पुगेका हुन्। “अब पछुतो मानेर मात्र हुँदैन, ढलेका संरचना उठाउन सबैले हातेमालो गर्नैपर्छ,” महराले भने।
भ्रस्टाचारको छानबिन गाउँ–टोलसम्म
महराले भ्रस्टाचार गाउँ, टोलदेखि सामुदायिक विद्यालय र सामुदायिक बनसम्म हावी बनेको आरोप लगाए। “भ्रस्टाचारविरुद्ध केन्द्रमा मात्रै बोलेर पुग्दैन, अब छानबिन स्थानिय तह र टोलसम्मै पुग्नुपर्छ,” उनले स्पष्ट पारे। उनले काम नगर्ने मात्र होइन, अरुलाई समेत काम गर्न रोक्ने प्रवृत्ति समाजमा हावी भएको भन्दै केही जनप्रतिनिधि वा कर्मचारीका कारण सिङ्गो व्यवस्था र नेतृत्वमाथि प्रश्न उठाउनु उचित नहुने बताए। “निष्पक्ष छानबिन गरेर आवश्यक कारबाही बढाउनुपर्छ,” महराले जोड दिए।
हल्लाभन्दा तथ्यमा आधारित छानबिन
अध्यक्ष महराले पछिल्लो समय हल्लाका भरमा मानिसलाई दोषी ठहर गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो अभ्यासले न्याय नहुने टिप्पणी गरे। “हल्लाले होइन, तथ्यमा गएर छानबिन गर्नुपर्छ,” उनले भने। अबको युवाले हल्लाका भरमा धारणा बनाउने भन्दा तथ्य बुझ्न आवश्यक रहेको उनले बताए ।
आन्दोलनको उपलब्धि र विश्वास
उनले अहिलेको आन्दोलनको मुख्य उपलब्धि देशमा परिवर्तन ल्याउन सक्नु भएको बताए। बर्तमान प्रधानमन्त्रीले त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको पनि महराले उल्लेख गरे। उनका अनुसार, अब वडा, टोलदेखि विद्यालय र सामुदायिक बनसम्म सबै क्षेत्रबाट श्रमदानमार्फत पुनर्निर्माण र सुधारको अभियान अघि बढाउनुपर्ने आवश्यकता छ।

