धनगढी । सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको नेतृत्वलाई लिएर हानथाप सुरु भएको छ । आठौँ तहको अस्थाई दरबन्दी कायम भएको उक्त केन्द्रमा हालै मात्रै नवौँ तहमा बढुवा भएका हेमराज खड्का प्रमुख बन्न राजनीतिक पहुँचका लागि सक्रिय भएका छन् । २०७८ साल फागुन ११ गते तत्कालीन सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कञ्चनपुरको महेन्द्रनगरमा कार्यालयको उद्घाटन गरेका थिए । स्थापना भएको चार वर्ष नपुग्दै सो केन्द्रलाई कैलालीको धनगढी उपमहानगरपालिका–५ मा सारिएको छ ।
हालसम्म अस्थाई कार्यालयका रुपमा सञ्चालन हुँदै आएको यस केन्द्रको वार्षिक नविकरण प्रक्रिया यसपालि भने पूरा भएको छैन । कार्यालय स्थापनाकै समयमा सामाजिक विकास मन्त्रालयमा कार्यरत स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्कालाई प्रमुखको जिम्मेवारी दिइएको थियो । सोही जिम्मेवारी उनी निरन्तर सम्हाल्दै आएका छन् । तर यस वर्ष कार्यालय नविकरणमा ढिलाइ भएसँगै नेतृत्वबारे फेरि चर्चा सुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदिश जोशीका अनुसार प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई अस्थाई कार्यालयका रुपमा सञ्चालन गर्ने र आठौँ तहकै प्रमुख रहने व्यवस्था यथावत् रहेको छ ।
तर यस वर्ष दरबन्दी र संरचना सम्बन्धी कुनै निर्णय भइसकेको छैन । यस्तै, केही दिनअघि मात्र स्वास्थ्य समूहतर्फ नवौँ तह (उपसचिव) मा बढुवा भएका हेमराज खड्का भने सोही कार्यालयको दोहोरो जिम्मेवारी लिने उद्देश्यले सक्रिय छन् । उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवौँ तहकै अस्थाई दरबन्दी ल्याउन प्रयासरत रहेको स्रोतले जनाएको छ । खड्काले राजनीतिक पहुँचको भरमा निरन्तर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको र प्रवर्द्धन केन्द्रलाई बजेट वितरणमार्फत “कमाइ खाने भाँडो” बनाएको आरोप पनि लाग्दै आएको छ । यही कारण उनले फेरि राजनीतिक नेतृत्वसँग दौडधुप थालेको बताइन्छ । यसरी आठौँ तहकै लागि तोकिएको अस्थाई दरबन्दीलाई नवौँ तहसम्म पुर्याउन खोजिँदा संस्थागत व्यवस्थापनभन्दा व्यक्तिगत स्वार्थ बलियो भएको देखिएको टिप्पणी सरोकारवालाहरूको छ ।


