धनगढी: धार्मिक आस्था र प्राकृतिक छटा अनि विविधतापूर्ण सांस्कृतिक धरोहरले भरिपूर्ण सुदूरपश्चिम आफैंमा प्रकृतिको अमूल्य उपहार हो। २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो। जतिबेला खप्तड बाबा श्री १००८ ब्रह्मविद् परमहंश योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे, त्यसपछि खप्तडको प्रचार हुँदै गयो।
२००२ सालमा बझांगी राजा रामजंगबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए। पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए। त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो। देश–विदेशमा यसको महत्त्व र धार्मिक पर्यटनको महत्त्वबारे प्रचारप्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो।
समुद्री सतहबाट २४–३७ सय मिटर उचाइ र २ सय २५ वर्गकिमि क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पन्छीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो। यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ। यस निकुञ्जमा सल्ला, खसुर र निगालोका जंगलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसेमैदान रहेका छन्। यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चराचुरुंगीहरू छन्। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। यस निकुञ्जको करिब मध्यभागतिर १२ हजार फिट अग्लो खप्तड लेकमा ५० वर्ष खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ छ। सुन्दर घाँसेमैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ। यसको वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आ श्रम, शिव मन्दिर यहाँको आकर्षण हुन्।
प्राकृतिक, धार्मिक र सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीले खप्तडले यथेष्ट महत्त्व पाएको छैन। यातायात र उचित बास बस्ने व्यवस्था क्रमश स् बढिरहेका बेला आन्तरिक र बाह्य पर्यटकहरू विस्तारै बढिरहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पुग्न बझाङको खप्तड छान्ना गाउँपालिकाको मेल्तडी हुँदै लोखडाबाट वा डोटीको झिंग्रानाबाट जान सकिन्छ। खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट डा। केआईसिंह राजमार्ग हुँदै डोटी झिग्रेना वा जयपृथ्वी राजमार्ग भएर तमैल हुँदै खप्तडछान्नाबाट जाँदा ७ देखि ८ घण्टामा खप्तड पुगिन्छ। विश्वका धेरैजसो मुलुकहरू पर्यटन व्यवसायबाट मजबुत अर्थतन्त्र बनाउन सफल भएको परिपे्रक्ष्यमा खप्तड पनि एक पर्यटन व्यवसायका लागि उदाहरण बन्न सक्ने पर्यटन व्यवसायी किशोर खड्काले दाबी गरे।


