दार्चुला — दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ खसेको पहिरो अहिलेसम्म पन्छाउन नसक्दा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । शुक्रबार बेलुकातिर पहिरो पञ्छाउने काम सुरु गरे पनि लेदोसहित पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समस्या भएको थियो । शनिबार बिहानबाट पुनः पहिरो पञ्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार खलंगाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको थियो । अहिलेसम्म पहिरोमा फसेको जीप पनि निकाल्न नसकिएको प्रहरीले जनाएको छ । जीपको अगाडिको चक्काको भाग पुरिएर क्षति पुगेको छ । सडक बन्द हुँदा जिल्ला सदरमुकाम खलंगाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरू अलपत्र परेका छन् ।
शुक्रबार काठमाडौं, कैलाली, कञ्चनपुरबाट आएका बस पनेबाजमा रोकिएका छन् भने सदरमुकामबाट बाहिरिने यातायातका साधन ऐरिछाना क्षेत्रमा रोकिएका छन् ।


