धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम पनि अघि बढ्ने बताएका हुन् ।
‘संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा हुँदैन । त्यसका लागि वातावरण बनाउनुपर्छ’, उनले भने, ‘राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन । ५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ दुवै दल मिलेर सफलता प्राप्त गर्छौं । अनुकुलता निर्माण गर्छौं । त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’ सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको पनि उनले दाबी गरे ।
पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वउपराष्ट्रपति पुनको नाम नलिएरै उनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताएका हुन् । ‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टीभन्दा माथि हुनुहुन्छ, जो पार्टी र प्रतिस्पर्धाभन्दा माथि छ उहाँहरुको अधिकार खोसियो भन्ने भास्य चाँहि ठिक होइन,’ उनले भने, ‘स्वभाविक रुपमा माओवादी केन्द्रले गल्ती गर्यो, तर त्यो गल्तीको पछाडि एमाले जाँदैन । बरु गल्ती गरिहाल्नुभयो, सच्याउनुस् भन्छौं ।’
महासचिव पोखरेलले राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।


