धनगढी । कैलालीमा बिहीबार घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत भेटिनेमा घोडाघोडी नगरपालिका(७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए । उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक-फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
डगौरा छोरीसहित साउन २९ गतेदेखि बेपत्ता थिइन् । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियोे । उनी खोजीको क्रममा शनिबार मृत भेटिएकी हुन् । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् ।


