धनगढी: एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) भित्र अन्तरद्वन्द्व जारी रहँदा अध्यक्ष चतुरबहादुर चन्द भने तटस्थ भूमिकामा देखिएका छन् । उनले न सचिव पारसको खुलेर बचाउ गरेका छन्, न त असन्तुष्ट पक्षलाई नै साथ दिएका छन् ।
चन्दलाई आज धनगढीमा आयोजित एक पत्रकार सम्मेलनमा यो विषयमा जिज्ञासा राखियो । आज पनि उनले ‘मध्यमार्गी’ धारणा नै राखे । एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको उनले स्वीकारे । तर अब यसलाई विधिसम्मत तरिकाले अगाडि लैजाने भनाइ उनको थियो । क्यानभित्र विवाद र गुटबन्दीबारे पत्रकारले सोधेको प्रश्नमा चन्दले कुटनीतिक जवाफ दिए ।
उनले भने, ‘क्इानभ नेको एउटा संस्था हो । यसमा निर्वाचित बोर्ड हुन्छ । बोर्ड सदस्य १७ जना सबै भोटिङबाट आएका हुन् । सबैको आआफ्नो स्कुलिङ अनुसार फरक फरक विचारहरु छन् । तर, सबै सदस्यको एउटै लक्ष्य भनेको नेपाली क्रिकेटलाई माथि पुर्याउने हो । विधि–विधान अनुसार चलौं भन्ने साथीहरुको मत छ । अध्यक्षका रुपमा मैले त्यसको नियमन गर्नुपर्ने पनि हुन्छ । साथीहरुका विभिन्न गुनासोहरु छन् । त्यो भनेको सुझाव हो । कमजोरी भएको छ भने सुधार्नुपर्छ । राम्रो भएको छ भने राम्रै भएको छ भनेर साथीहरुलाई कन्भिन्स गर्नुपर्छ । कुनै वारपार वाला गुटबन्दी मैले क्यानभित्र देख्दिनँ ।’
एक पत्रकारले सोधे, ‘तपाईंले पारस खड्कालाई यति धेरै अधिकार दिनुभयो । क्यानको गर्भिनिङ काउन्सीलको संयोजक बनाउनुभयो । तर पारसले तपाईंलाई कतै पनि श्रेय दिएको देखिँदैन । तपाईंको नाम कुनै पनि मञ्चमा लिनुहुन्न । यसमा के भन्नुहुन्छ ?’
यसमा पनि चन्द खुलेनन् ।
उनले संक्षिप्त जवाफ दिए, ‘उहाँले मञ्चमा नबोेलेको भन्ने कुरा उहाँको विषय हो । मैले पर्दा पछाडि गरेको कामबारे तपाईंहरु खोज गर्न सक्नुहुन्छ । मेरो योगदानबारे मैले बताइराख्नु पर्दैन ।’ चन्दले एनपीएल सिजन २ को तयारी सुरु भइसकेको बताए । पहिलो सिजनको हिसाबकिताब अध्ययन गर्न बोर्ड सदस्यहरुले समय मागेकाले अस्तिको बैठकमा पारित नभएको उनको भनाइ छ ।
चन्दले भने, ‘सिजन २ को तयारी सुरु गरिसकेका छौं । हिसाबकिताबमा अलि ढिला भएको चैं हो । तर ढिला हुँदैमा सबै कुरा बिग्रेको भन्ने होइन । बोर्डका केही साथीहरुले आजै मात्र हिसाब पायौं, यसलाई अध्ययनका लागि समय चाहिन्छ भन्नुभएको छ । अब अर्को बैठकमा पारित हुन्छ ।’ नेपालले एसीया कप गुमाउनुपर्दा क्यानलाई आर्थिक रुपमा पनि धेरै नोक्सानी भएको चन्दले गुनासो गरे ।
उनले भने, ‘एसिया कपमा छनोट नहुँदा हामी अलिकति तल परेका छौं । खेलाडीर्लाइ मात्र नभएर क्यानलाई आर्थिकरुपमा पनि ठूलो क्षति भएको छ । हामीले एसीसीबाट आउने अनुदान सहायता गुमायौं ।’

