धनगढी । कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्तीसहितको टोली बेलौरीबाट फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्तीसहितको टोली शुक्रबार दिउँसो रित्तो हात फिर्ता भएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्लास्थित बेलौरी नगरपालिका ९ आदर्श नगर र प्रगतिटोलमा देखिएको बाघको खोजीका लागि तीन हात्तीसहितको टोली परिचालन गरेको थियो । खोजीका लागि ‘रुपकली’ नामक पोथी हात्ती र दुई वटा भाले हात्ती लव प्रसाद र सिद्ध प्रसाद गरी तीन हात्तीसहितको टोली बेलौरी पठाइएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । हात्तीसहितको टोलीले प्रगति टोल र आदर्शनगर हुँदै नजिकको उखुबारीमा दुई दिनसम्म खोजी गरेको थियो ।
बाघको कुनै सङ्केत समेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको सूचना अधिकारी वाग्लेले बताए । बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसनसिंह रानाले यस क्षेत्रमा देखिने चितुवा, बाघले स्थानीय त्रसित बनेका बताए । बाघको खोजीका लागि आएको टोली पनि फिर्ता भएको बताउनु हुँदै अध्यक्ष रानाले जनावरबाट सुरक्षित रहन समय–समयमा वडा कार्यालयले सूचना नै जारी गरेर जनचेतना फैलाउँदै आएको बताए ।
यसअघि गत असार पहिलो साता स्थानीय शङ्कर भट्टको गोठमै पसेर चितुवाले बाख्रा मारेको थियो । मङ्गलबार दिउँसो वडा नम्बर–९ स्थित आदर्शनगर र प्रगति टोलमा–२ डमरुसहित बाघ देखापरेको थियो । स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई खबर गरेका थिए ।


