धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले प्रदेशमा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकमा बोल्दै उनिहरूले छाउपडी प्रथाविरुद्धको ऐन, कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी चेलीबेटीको जीउज्यान सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका हुन्।। गत असार २७ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित निगालीकी २८ वर्षीय कमला आउजी दमाईं छाउपडीमा बसेको बेला सर्पको टोकाइबाट ज्यान गएको थियो । सो घटनापछि छाउपडी उन्मूलनको विषयलाई जोडदार रूपमा सदनमा उठाइएको छ ।
प्रदेश सभा सदस्य जानकी कुँवरले नेपाल सरकारले छाउपडी प्रथाविरुद्धको कानुन २०७४ मै बनाएर यसलाई दण्डनीय अपराधका रूपमा लिए पनि कानुन कार्यान्वयन हुन नसक्दा सुदूरपश्चिममा बर्सेनि महिलाले छाउगोठमा ज्यान गुमाउनु परिरहेको बताइन् । उनले छाउपडी प्रथाविरुद्धको कानुन गम्भीरतापूर्वक कार्यान्वयनमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरिन्।
त्यस्तै अर्का प्रदेश सभा सदस्य गीतादेवी मालले छाउगोठमा महिलाले ज्यान गुमाइरहँदा प्रदेश सरकार मौन रहेको आरोप लगाइन्। प्रदेश सभा सदस्य मधुदेवी भारतीले नीति बनाएर छाउपडी प्रथा अन्त्यका लागि अगाडि बढ्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । भौतिक रूपमा छाउगोठ भत्काएर नहुने भन्दै उनले मनको छाउगोठ भत्काउन जरुरी रहेको औँल्याइन् ।


