बैतडी: सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनाको आरम्भसँगै शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणले बत्ती बाल्ने, पूजाआजा गर्ने र रातभर जाग्राम बस्न थालेका छन् । साउन महिनालाई ‘बत्ती बाल्ने महिना’ का रूपमा मान्ने सांस्कृतिक र धार्मिक परम्परा अनुसार विभिन्न मन्दिरमा विशेष चहलपहल हुन थालेको छ । साउनको आरम्भ भएसँगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजा, भजनकीर्तन, आरतीलगायतका धार्मिक कार्यक्रम सुरु भएको दशरथ चन्द नगरपालिका–७ का पण्डित गणेशदत्त भट्टले बताए ।
वासुलिङ मन्दिरका पुजारी धर्मानन्द भट्टले भने, “साउन महिनाभरि देवीदेवताका मन्दिरमा पूजापाठ गर्ने चलन रहिआएको छ ।” बैतडीमा सात बैनी भगवती र सात भाइ केदारका प्रसिद्ध मन्दिर रहेकाले नेपालभित्रका साथै सीमावर्ती भारतका श्रद्धालु पनि दर्शनका लागि आउन थालेका छन् ।जिल्लामा रहेका त्रिपुरासुन्दरी, निङ्गलासैनी, डिलासैनी, मेलौली भगवती, रौलाकेदार, वाशुलिङ, सिगासधुरा, दोगडाकेदार, उदयदेव, शिवनाथलगायतका मन्दिरमा साउन महिनाभर श्रद्धालुको भिड लाग्ने गरेको छ ।
साउन महिनाको सुरुवातसँगै प्रसिद्ध रौलाकेदारधाममा श्रद्धालुको ओइरो लाग्न थालेको उहाँले बताउनुभयो । “साउन सुरु भएसँगै रौलाकेदारमा श्रद्धालु आउन थालेका छन, यो महिनाभर मन्दिरमा भिड लाग्ने गर्छ,” । रौलाकेदारको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेसरह फल प्राप्त हुने जनविश्वास रहेको छ। त्यस्तै सिगास गाउँपालिकास्थित सिगासधुराधाममा पनि विशेष चहलपहल सुरु भएको छ । शिवजीको वासस्थानका रूपमा लिइने सिगासधुरामा दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको छ ।


