धनगढी । कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको छ । वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शवको पछि सनाखत भएको थियो ।
यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको छ । नग्न अवस्थामा भेटिएको शवको सनाखत हुन सकेको छैन । उक्त शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


