धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथकाे हत्या भएको खुलेको छ । प्रहरीले नाथकाे हत्या गरेको अभियाेगमा उनकै सहाेदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेकाे बेला सिरानीले मुख च्यापेर हत्या गरेकाे बयान दिएका छन् । उनले भाउजुकाे हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका छन्।
नाथ शुक्रबार बिहान घर नजिकैकाे नालामा मृत भेटिएकी थिइन् ।
उनकाे १६ दिनकाे नवजात शिशु भने सकुशल फेला परेकाे थियो ।
प्रहरीले बाहिर घाउचाेट नदेखिएका कारण उनकाे मृत्युको कारण पत्ता लगाउन सकेेकाे थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त काेणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियाे ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेकाे घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए ।
उनले जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टाेलीले घटनाकाे तथ्य उजागर गरेकाे बताएका छन्।


