धनगढीः प्रवासी नेपालीहरूले सुदूरपश्चिमको विकासका लागि लगानी गर्न तयार रहेको बताएका छन्। बुधवार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘नीति तथा कार्यक्रम स् लगानी तथा विकास सम्मेलन २०८२’ सम्बन्धी भर्चुअल संवाद कार्यक्रममा उनीहरूले लगानीप्रति आफ्नो प्रतिबद्धता जनाएका हुन्।
लगानी तथा विकास सम्मेलनको तयारीमा रहेको प्रदेश सरकारले सुदूरपश्चिमको विकासमा टेवा पुर्याउनका लागि सम्मेलनको आयोजनाको तयारी गरिरहेको छ। विभिन्न क्षेत्रका विज्ञहरूसँगको छलफल र संवाद पश्चात आज प्रवासमा रहेर व्यवसाय गरिरहेका प्रवासी नेपालीहरूसँग कसरी लगानी भित्र्याउन सकिन्छ भन्ने विषयमा प्रदेश सकारले भर्चुअलमार्फत सल्लाह सुझाव लिएको हो। वक्ताहरू लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारलाई सुझाव दिएका थिए। उनीहरूको प्राथमिकता आवश्यकताहरूको पहिचान र त्यसमा लगानीको वातावरण निर्माण गरि कुन क्षेत्रमा योगदान पुर्याउँदा प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो।
सुदुरपश्चिम सरकारकाले लगानीमैत्री वातावरणको निर्माण गरि पूँजीको सुनिश्चिता गर्न सकिने आधार निर्माण भए ठूलो पूँजी नेपालमा भित्रिनेमा बक्ताको जोड थियो। भर्चुअल अमेरिका, क्यानडा, साउथ अफ्रिका, अष्ट्रेलिया, रसियालगायतका देशमा व्यवसाय गर्दै आएका एनआरएनहरुको सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आग्रह गरे। ‘विदेशमा कमाएको पुँजी, सीप र अनुभव अब आफ्नै भूमिमा लगानी गरौँ,’ उनले भने ‘प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन पूर्ण रूपमा तयार छ।’
सुदूरपश्चिम प्रदेश सरकारले असोज १ र २ गते लगानी सम्मेलन गर्दैछ। त्यसको तयारीका लागि यही २१ गते प्री सम्मीट हुँदैछ।


