बैतडी: केही दशकअघिसम्म विवाह, व्रतबन्ध र शुभकार्यमा गुञ्जने मसक बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । आकर्षक कपडाले बेरिएको छाला र रबरको थैलामा हावा भरेर बाँसुरी जस्तै पिपिर जडान गरी बजाइने मसक बाजाका सिपालु मानिस भेटिन पनि मुस्किल हुन थालेको छ ।
सुदूरपश्चिम र भारतको उत्तराखण्डमा यो बाजा प्रचलित छ । कुनै समय सुदूरपश्चिमका वैवाहिक समारोहमा अनिवार्य जस्तै हुने यो बाजा पछिल्लो समय विदेशी ब्यान्डबाजाको प्रयोगले सङ्कटमा परेको छ । मसक बाजा बजाउने नयाँ पुस्ताले पनि यो पेसा छोड्दै गएकाले यसको संरक्षणमा चुनौती थपिएको बैतडीका मसकबाधक ६५ वर्षीय कुर्रु दमाईंले बताए ।


