धनगढी: धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी गरिएको छ। स्नातक तह चौथो वर्षको वार्षिक परीक्षामा गार्ड बस्न नदिएको भन्दै ताला ठोकिएको बताइएको छ। सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्ले परीक्षामा गार्ड बस्न नदिएको भन्दै तालाबन्दी गरेको हो। सोमवार अध्यक्ष कृष्ण पुजारालगायतका परिषद्का पदाधिकारीले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ।
क्याम्पस भवनमा पठनपाठन अवरुद्ध गर्ने हिसाबले परिषद्का अध्यक्ष पुजारा, उपाध्यक्ष भुवन भट्ट, सचिव निशान्त बम, कोषाध्यक्ष हेम जोशी सदस्यहरू योगेन्द्र चन्द र आशिष भट्टले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ। उनीहरूले परीक्षामा आफूहरूलाई गार्ड राख्न भनेको तर, क्याम्पस प्रशासनले गार्ड नराख्दा निहुँ खोजेर तालाबन्दी गरेको क्याम्पस प्रमुख योगराज गौतमले बताए।
तर उनीहरूले भने पुस्तकालयमा पर्याप्त सन्दर्भ सामग्री नरहेको, अङ्ग्रेजी विषयको अध्यापकको विज्ञापन गरेर छनोटको प्रक्रियामा नलगेको भएकाले ताला लगाएको दाबी गरेका छन्।


