धनगढी। शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोप लागेका धनगढी नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी फरार भएका छन्। भन्सार प्रमुखको किटानी जाहेरीका आधारमा पक्राउको तयारी भइरहेका बेला धामी आइतबार दिउँसोसम्म सम्पर्कमा रहे पनि त्यसपछि मोबाइल स्विच अफ गरी फरार भएका हुन्।
कैलाली प्रहरीले धामीको खोजी भइरहेको जनाएको छ। तिमिल्सिनाले धामीसहित पाँच नगर प्रहरीविरुद्ध “अभद्र व्यवहार” शीर्षकमा जाहेरी दिएका छन्। शनिबार राति १० बजे धामी नेतृत्वको टोलीले भन्सार कार्यालयमा प्रवेश गरी तिमिल्सिनामाथि कुटपिट गरेको आरोप छ। धामीले आफू संलग्न नरहेको दाबी गरे पनि घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनी फरार भएका हुन्।
धनगढी उपमहानगरपालिकाले धामीलाई पदीय आचरण विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ।


