कैलाली ।कैलालीमा निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर एक युवकको मृत्यु भएको छ। बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुर निवासी २७ वर्षीय दीपेन्द्र थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
थारु घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा निर्माणाधीन झोलुङ्गे पुलमा कामदारका रूपमा कार्यरत थिए। डीएसपी अवस्थीका अनुसार आइतवार बेलुका खाना खाइसकेपछि उनी मोबाइल नेटवर्क खोज्दै पुलको छेउतिर गएका थिए। सोही क्रममा करिब सात फिट तल खसेका थिए भन्ने अनुमान गरिएको छ। घटना सोमबार बिहान अन्य कामदारहरूले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीका अनुसार थारुको शव आफन्तको जिम्मा दिइ शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ।


