धनगढी: १२ माघ २०८० मा बहुमत सांसदको बैठकमार्फत माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाइएका खगराज भट्ट झण्डै १५ महिनापछि जिम्मेवारीमा फर्किएका छन् । बिहीबार राति डडेल्धुरामा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा भट्टलाई संसदीय दलको नेता चयन गरेको हो । बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङलगायतका नेताहरू पनि सहभागी थिए ।
१२ माघ २०८० मा बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई नेता बनाएका थिए । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह वली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । अहिले वली पनि भट्टतर्फ लागेपछि धामी र भट्ट समूहमा पाँचरपाँच जना प्रदेशसभा सदस्य छन् ।
दलको नेतामा धामी चयन भएको ५ महिनापछि २०८१ असारको पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिए । त्यो निर्देशन संसदीय दलले टेरेन । प्रचण्डको पहिलो निर्देशन यत्तिकै सकियो । त्यसपछि प्रचण्डले लिखित र मौखिक गरेर पाँचपटक भट्टलाई दल नेता बनाउन निर्देशन दिए । तर, धामी पक्षका ५ प्रदेशसभा सदस्य दल नेता नफेर्ने अडानमा अडिग रहे ।
२४ वैशाखमा आफ्नै उपस्थितिमा दलको बैठक राखेर दल नेतामा भट्टको कमब्याकु गराउने इच्छा अध्यक्ष प्रचण्डको थियो । सुदूरपश्चिमका सबै सांसदलाई काठमाडौं बोलाइयो पनि । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्थाका कारण छलफलबिनै उनीहरू घर फर्किए । अन्ततः बिहीबार राति पहिलो निर्देशनको १० महिनापछि प्रचण्ड दल नेतामा भट्टलाई कमब्याक गर्न सफल भएका छन् । प्रदेशसभा सदस्य शिवसिंह वलीका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारण राखेका थिए ।
दल नेता फेर्नका लागि पार्टीको प्रदेश इन्चार्ज फेर्नुपर्ने विषय पनि उठ्यो, वलीले भने, तर अध्यक्षज्यूले पार्टीको कुरा पार्टीमै गर्ने र संसदीय दलको कुरा मात्र यहाँ गर्नू भन्नुभयो । आफ्नो निर्देशन मान्नुको कुनै अर्को विकल्प छैन भनेपछि दल नेता परिवर्तन सम्भव भएको हो । धामी पक्षका प्रदेशसभा सदस्य ओमविक्रम भाटले पार्टी केन्द्रको निर्देशन कार्यान्वयन मात्रै गरिएको बताए । झण्डै १५ महिनापछि खगराजलाई दल नेतामा फर्काउन कसरी सहमत हुनुभयो ? भन्ने प्रश्नमा भाटले भने, सहमति केही पनि भएको होइन । पार्टीको निर्देशन कार्यान्वयन मात्रै गरिएको हो ।
बैठकमै सहभागी एक प्रदेशसभा सदस्यका अनुसार धामी पक्षका सांसदले आफूहरू पार्टीको निर्देशन कार्यान्वयन गर्न तयार रहेको तर भट्टले पनि कार्यशैली सुधार गर्नुपर्ने बताएका थिए । पार्टीको निर्देशन कार्यान्वयन गर्न समस्या होइन, ती सांसदका अनुसार धामी पक्षका प्रदेशसभा सदस्यले प्रचण्डकै अगाडि भनेका थिए, मुख्य समस्या खगराजको कार्यशैलीमा हो । उहाँले कार्यशैली सुधार्नु भएन भने असारमै फेरि निर्णय उल्ट्याउन पनि सक्छौँ । त्यसका लागि हामीसँग बहुमत पनि छ ।
धामी पक्षका प्रदेशसभा सदस्यले दल नेताबाट हटाउँदा खगराजले दलभित्र छलफल नै नगरेको, सरकारमा मन्त्री पठाउदा मनोमानी गरेको र जुनसुकै निर्णय गर्दा पनि एकलौटी गरेको आरोप लगाएका थिए ।


