धनगढी: नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ तराई–मधेस जागरण अभियान सम्पन्न भएको छ । फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियान सुरु भएको थियो । पटक पटक स्थगित हुँदै आएको अभियान बुधबार कञ्चनपुरको महेन्द्र नगरमा विरोधसभा गरी सम्पन्न भएको महासचिव देव गुरुङले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका शिर्ष नेताहरू सहिद परिवार भेटघाट सगैं, अन्तरक्रिया तथा सभामा सहभागी भएका
कञ्चनपुरको महेन्द्रनगरमासभा गरेर अभियान सम्पन्न भएको छ । सभा सम्पन्न गरेर हिजै साँझ अध्यक्ष प्रचण्ड सहित नेताहरु काठमाडौँ फर्किएका छन् । पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि ६ महिना तराई–मधेस, पुष्पलाल मध्यपहाडी राजमार्ग, हिमाली तथा पहाडी जिल्लाहरूमा अन्तरक्रिया, जनपरिचालन, जनसभा, पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार फागुन १२ गते झापा, १३ गते मोरङ, १४ गते सुनसरीमा सहिद, घाइते अपाङ्गता परिवारसँग भेटघाट, जनअन्तरक्रिया तथा सहरका विभिन्न स्थानमा साना ठुला सभा आयोजना गरेको थियो । पूर्वको अभियान सम्पन्न भएपछि माओवादीका अभियान टोली फागुन १५ गते मधेस प्रदेशको सप्तरी प्रवेश गरेको थियो ।
१६ गते सिराहा, १७ गते धनुषामा अभियान सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गरेको थियो । जसअनुसार २२ गते महोत्तरी, २३ गते सर्लाही २४ गते रौतहटमा अभियान सम्पन्न ग¥यो । तर गणतन्त्रविरुद्ध राजावादीहरू सक्रिय रहेको निष्कर्ष निकाल्दै अभियान स्थगित गरी माओवादी काठमाडौँ फर्कियो । मधेसको बाँकी जिल्ला बारा, पर्साको अभियान चैत ७ र ८ गते सम्पन्न ग¥यो ।
चैत ९ गते बागमती प्रदेशको चितवनमा अभियान सम्पन्न गरी व्यवस्थाविरुद्ध भइरहेको राजावादीहरूको अभियानलाई चुनौती दिने भन्दै फेरि काठमाडौँ फर्कियो । चैत १५ गते समाजवादी मोर्चाका दलहरूसँग मिलेर भृकुटीमण्डपमा विरोध सभा ग¥यो । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने बिचबिचमा ब्रेक गरी अभियान सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सभा तथा अन्तरक्रिया, सहिद परिवारसँग भेटघाट गरी अभियान टोली वैशाख १५ गते सुदूरपश्चिमको कैलाली प्रवेश गरेको थियो । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन । अभियान अवधिमा अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने, २०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराउने काम गरेको थियो । यस्तै किसानहरूको समस्या समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत अभियानले भूमिका खेलेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
व्यवस्था विरोधी गतिविधि, भ्रष्टाचार, बेथिति, सरकारी ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान गर्न अभियान सफल भएको उनले बताए । चैत १८ र १९ गते बसेको माओवादीको पदाधिकारी बैठकले तराई–मधेस केन्द्रित अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकालेको थियो । तराई–मधेसको २० जिल्लामा जोडिएको यो मार्ग पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म फैलिएको छ ।


