धनगढी: प्रेमसिंह बोहराले बुढेसकालको भरोसा छोरा गुमाएको ९ वर्ष पुगेको छ । तर, छोराको हत्यामा संलग्न दोषीलाई कारबाही भएको हेर्ने उनको धोको पूरा भएको छैन । उनी भन्छन्, ‘हत्यामा संलग्नलाई कारबाही नभएरै होला ९ वर्षसम्म पनि छोराको आत्माले शान्ति पाएको छैनजस्तो लाग्छ ।’ कञ्चनपुरको बेलौरी नगरपालिका–६, विद्यानगरका प्रेमसिंह, टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराका बुबा हुन् । थरुहट, थारूवान् र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा ७ भदौ २०७२ अर्थात् ९ वर्षअघि आजकै दिन भएको थियो( टीकापुर घटना । घटनामा बोहरासहित ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उमेरले ७६ वर्ष नाघेका प्रेमसिंहसँग शुक्रबार टेलिफोनमा कुराकानी गर्दा उनीभित्रको निराशा झल्किन्थ्यो । ‘९ वर्षसम्म पनि न्यायको अनुभूति गर्न सकेका छैनौँ,’ उनले शिलापत्रसँग भने, ‘घटनाका योजनाकार भनिएका रेशम चौधरी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए । तर, उनले आममाफी पाएका छन् । हामीले न्याय पाएको अनुभूति कसरी गर्ने ?’
अदालतबाट दोषी ठहर भएकालाई सत्ता टिकाउन रिहा गरिएको आरोप उनको छ । ‘हत्यामा संलग्न छन् भनेर हामीले भनेका थिएनौँ,’ उनी भन्छन्, ‘तीन तहका अदालतले दोषी ठहर गरेको हो । तर, दोषीलाई उन्मुक्ति दिन शीर्ष नेताहरू लागेपछि हाम्रो केही लागेन ।’ प्रेमसिंहका अनुसार रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट छ । ‘पेसी निरन्तर सार्ने काम मात्रै भइरहेको छ, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने पनि हाम्रो तयारी हो । न्यायका लागि संघर्ष जारी छ,’ प्रेमसिंहले भने । यता टीकापुर घटनामा दोषी ठहर भएर आममाफी पाएका रेशम चौधरीले भने आजको दिनलाई टीकापुरवासीका लागि कालो दिन भनेर टिप्पणी गरेका छन् । ‘आज थारू विद्रोह भएको दिन, हाम्रो श्रीसम्पत्ति लुटिएको र आगजनी भएको दिन,’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदा पनि आजसम्म फूलबारी एफएमको दैलो टेक्न सकेको छैन । आगजनीका भग्नावशेष यथावत् छन् । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीका नाममा अरुले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।’
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंह बोहरा ।टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंह बोहरा । उनले आजको दिनलाई टीकापुर विद्रोह दिवसका रूपमा स्मरण गरेको उल्लेख गरेका छन् । टीकापुर घटना भएको भोलिपल्ट रेशम चौधरीको घर र एफएममा आगजनी भएको थियो भने थारू समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भएको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पनि कहिल्यै भुल्न नसकिने दिनका रूपमा स्मरण गरेको उल्लेख गरेकी छन् । ‘आज ७ भदौ, हामी सबै त्यो ७ भदौ २०७२ सम्झिन र स्मरण गर्न चाहन्छौँ,’ उनले भनेकी छिन्, ‘मानवीय क्षतिमा परी ज्यान आहुति दिएका सबैलाई हृदयदेखि सम्झिन चाहन्छौँ । त्यो घटना राजनीतिक आन्दोलन थियो । नहुनु पर्ने भयो तर बिनाप्रमाण निर्दोष थारू थुनिए ।’
के थियो टीकापुर घटना ?
२०७२ साल भदौमा थरूहटको आन्दोलन चर्किँदै गएको थियो । ७ भदौको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मीको हत्या गरेको थियो । घटनामा एक नाबालकको पनि हत्या भएको थियो । सो घटनापछि कैलालीमा एक महिनाभन्दा लामो समयसम्म कर्फ्यु लाग्यो भने ५८ जनाविरुद्ध मुद्दा चल्यो । घटनापछि फरार रहेका रेशम चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट टिकट लिएर कैलाली-१ बाट सांसदमा निर्वाचित भए । चुनाव जिते पनि उनी फरार थिए । पछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । टीकापुर घटनाका मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीमाथि त्यतिबेलादेखि नै सजाय घटाउनुपर्ने दबाब थियो । तर, देशभर चर्किँदो विरोधका कारण उनको सजाय घटेन । बरु उल्टै बढ्यो ।
तत्कालीन राजपाले पटक(पटक संसदमा आवाज उठाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई शपथ ग्रहण गराए । सर्वोच्च अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला र उच्च अदालतले दिएको आदेशलाई सदर गरिदियो । तर, उनको पक्षमा राजपाले आवाज उठाउन छाडेन । तत्कालीन राजपाले एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्दा पनि रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त राखेको थियो । तर, माग सम्बोधन नभएपछि ओली सरकारबाट राजपा बाहिरिएको थियो । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराको सम्झनामा गरिएको वृक्षरोपण ।टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराको सम्झनामा गरिएको वृक्षरोपण ।
जिल्ला अदालत कैलालीले रेशमसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यही फैसला उच्च अदालत र सर्वोच्च अदालतले सदर गरेपछि रेशम उम्किने बाटो बन्द भएको थियो । जन्मकैदको सजाय पाउनेमा रेशमसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरी थिए । तर, श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात् १० वर्ष सजाय तोकियो । यस्तै, लक्ष्मण थारू, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, जितबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलगायत १२ जनालाई तीन वर्ष कैद तोकियो । चुन्कीरामबाहेक ११ जनाले कैद भुक्तानी गरिसकेको भन्दै उनीहरूलाई फैसला सुनाएकै दिन छोड्न आदेश दिइयो । यस्तै, नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, विषराम चौधरी र रामनरेश चौधरीलाई सफाइ दिन आदेश भयो ।
करण चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ ९२० बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भइसकेकाले थुनामुक्त गर्न आदेश भयो । फरार रहेका ३१ जनाको मुद्दा मुल्तवीमा राखियो । तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम १५ जेठ २०८० मा गणतन्त्र दिवसका दिन आममाफी पाएर रिहा भएका थिए ।


