धनगढी : वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नतिर लागेको बताएका छन्। धनगढीमा आइतवारदेखि सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले यसअघिका मन्त्रीहरूले नेपालमा बन्द भएका उद्योगहरू अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेको भएपनि आफुले मन्त्रालय सम्हालेपछि बन्द भएका उद्योगहरू सञ्चालन गरेर त्यसबाट रोजगारीको सिर्जना गर्ने तयारीमा रहेको उनले बताए । मन्त्री भण्डारीले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरू फेरि सञ्चालनमा ल्याउने दावी गरेका हुन्।
उनले भने, ‘केही राम्रा राम्रा उद्योगहरू कच्चा पदार्थ नपाएर बन्द भएका छन्। कच्चा पदार्थ आपूर्तिका लागि ऐन नियमहरू बाधक थिए। मैले ८ वटा ऐन नियमहरू संशोधन गरेको छु। अब उद्योगहरूलाई आधुनिक तरिकाले सञ्चालन गर्न सकेमात्रै रोजगारीको सिर्जना गर्न सकिन्छ।’ उनले नवउद्यमीहरूलाई अगाडि ल्याउन ब्याजमा अनुदानका लागि १ अर्बको प्याकेज ल्याएको बताए।


