काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन्। मंगलबार बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीमान-श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका हुन्। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रञ्जितासँग छलफल गरेका छन्। ओली भेट्न रञ्जिता मंगलबार दिउँसो बालकोट पुगेकी थिइन् ।रेशम चौधरी पनि ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बताइएको छ । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित थियो। रेशम र रन्जिताबीच मतैक्यता नहुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ।
संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।तर आफूले आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको जानकारी दिए । उनले प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिन पनि आफूले प्रधानमन्त्रीलाई भनेको बताए।
सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो । कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् ।


