धनगढी। न्यायको माग गर्दै मार्चपास आन्दोलन सुरु गरेका मिटरब्याजीपीडित नवलपरासी पुगेका छन्। हिजो शनिबार १२ औँ दिनमा नवलपरासीको बर्दघाट पुगेका उनीहरुले आज आइतबार त्यहीँ आराम गरिरहेका छन्।
माघ १६ गते कन्चनपुरको महेन्द्रनगरस्थीत गड्डाचौकी र झापाको काँकडभिट्टाबाट एकसाथ मार्चपास सुरू भएको थियो । कन्चनपुरको महेन्द्रनगरस्थीत गड्डाचौकीबाट मार्च पास सुरु गरेका मिटरव्याजीपीडितहरू करिब ४ सय ५० किलोमिटर दूरी पैदल यात्रा गर्दै नवलपरासी पुगेका हुन्। सरकारले बनाएको जाँचबुझ आयोगबाट पनि न्याय नपाएको भन्दै पीडितहरु निर्णायक आन्दोलन भन्दै मार्चपासमा निस्किएका हुन्।
संघर्ष समितिले मिटरब्याजसम्बन्धी कानुन संशोधन र न्यायिक आयोग गठन गर्नुपर्नेलगायतको ६ बुँदे माग राख्दै मेची–महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेको संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए। तमसुक, दृष्टिबन्धक र रजिस्ट्रेसनलगायत फर्जी लिखत खारेज हुनुपर्ने र पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर हुनुपर्ने समितिको मागमा उल्लेख छ।
मिटर ब्याजसम्बन्धी आर्थिक अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुने शक्तिशाली कानुन निर्माण हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने, पीडितको अभिलेखीकरणका लागि नयाँ निवेदन खुलाउनुपर्ने, पीडक साहुमहाजनलाई पक्राउ गरिनुपर्ने, स्थानीय तहमा एकलौटी प्रमाणित गराइएका कपाली तमसुकको छानबिन हुनुपर्ने, पीडितमाथि भएका मानवाधिकार उल्लङ्घनका घटनाको छानबिन हुनुपर्ने, पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने र पीडितलाई बिनाधितो सहुलियत ऋणको व्यवस्था हुनुपर्ने उनीहरूको माग रहेको छ।
पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका पीडितहरू फागुन १ गते चितवनमा भेट भएर संयुक्तरूपमा काठमाडौं पुग्नेछन्। मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’ र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर गरी अधिकार सम्पन्न न्यायिक छानबिन आयोगको माग गरेको छ।बिगत तीन वर्षदेखि मिटरब्याज पीडितको अधिकारका लागि आन्दोलन गरिरहेको जनाउँदै समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले काँकडभिट्टामा पत्रकार सम्मेलन गरी मेची–महाकाली ‘न्याय मार्च’ गर्ने घोषणा गरेका थिए।
देशभरमा पाँच हजार र झापामा छ सयभन्दा बढी मिटरब्याज पीडित रहेको उल्लेख गर्दै समितिका अध्यक्ष कुशवाहले माघ १६ गते सहिद दिवसको अवसर पारेर काँकडभिट्टा र महेन्द्रनगरबाट एकसाथ ‘न्याय मार्च’ सुरु गरिएको बताए। पूर्वबाट आउँदै गरेको टोली आज बिहान बाराको निजगढबाट अगाडि बढेको संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए । पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका पीडितहरू फागुन १ गते चितवनमा भेट भएर संयुक्तरूपमा काठमाडौं आउने छन् ।पैदल यात्रामा रहेका अधिकांशमा खुट्टा सुन्निने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ ।


