धनगढी। निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ।
सुदूरपश्चिमका ५ सहित रिक्त भएका देशका २३ जनप्रतिनिधी पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो। सुदूरपश्चिमका ५ सहित देशभरका २० जिल्लाका २३ जनप्रतिनिधिको पद रिक्त छ।
निर्वाचन आयोगका अनुसार बझाङ–१ को प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त छ। सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ गते निधन भएको थियो। सिंह कांग्रेसबाट निर्वाचित भएका थिए। यस्तै कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ। कांग्रेसबाट निर्वाचित समिति प्रमुख जितेका कलेलको २०७९ पुस २३ मा निधन भएको थिए।
उता डोटीको पूर्वाचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ। गत वर्ष मङ्सिरमा जोशीको निधन भएको थियो। उनी पनि कांग्रेसबाट निर्वाचित भएका थिए। गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका- ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उनी एमालेबाट जितेका थिए। यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो। त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ। प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन गर्न तयारी सरकारले थालेको छ। तर उपनिर्वाचनका लागी चुनावको मिति तोकिएको छैन्।


