धनगढी। राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न भएको छ। सुदूरपश्चिममा ९९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुदूरपश्चिममा तीन सदस्यका निर्वाचन भएको हो।
यहाँ प्रदेशका ५२ र स्थानीय तहका १ सय ७५ गरि दुई सय २७ जना मतदाता रहेका छन् । सो मध्ये दुई जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागि नभएको मतदान केन्द्रका सहायक कर्मचारी युवराज जैशीले बताए । उनले भने –‘दुई सय २७ मतदातामा दुई सय २५ जनामात्र भाग लिए । मतदानको समय सकिएको छ।’
उनका अनुसार प्रदेशतर्फका सबै जनप्रतिनिधिले मतदान गरेको भएपनि स्थानीय तहका दुई जना जनप्रतिनिधि सहभागि भएनन् ।मतदानमा सहभागि नहुनेमा धनगढी नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवा रहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तिरुवाले आफु विरामी भएका कारण मतदानमा भाग लिन नसकिएको बताइन् ।
नगर प्रमुख हमालले भने काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन शाहको सिको गरेका छन् । यसअघि जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिएका हमालले राष्ट्रिय सभा निर्वाचनमा सहभागि नभएको जनाइएको छ । गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् । एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।निर्वाचनको मतपरिणाम आजनै सार्वजनिक हुने बताइएको छ ।


