जनकपुरधाम। जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जाने भनिएको विशेष रेल रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो ।
भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताए ।शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए ।
उनका अनुसार शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि आज बिहान साढे ६ बजे विशेष रेल जाने तयारी भएको थियो । शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ । रेल नजाने भएपछि श्रद्धालुहरू निराश बनेका छन्।


