अत्तरिया। कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट २८ वटा नक्कली टिकट ठेली बरामद गरिएको छ। आयोजकले नै महोत्सव स्थलको टिकट काउण्टरबाट नक्कली टिकट ठेली नियन्त्रणमा लिइएको हो।
विहिबार भेटिएका ति टिकट ठेली नियन्त्रणमा लिएको भएपनी सार्वजनिक र अनुसन्धान गरिएको छैन। आठौं संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो। बिहीबार फरक किसिमको टिकट ठेली भेटिएपछि टिकट बिक्रेता मदन भट्टले नै आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिवलाई खबर गरेको स्ववियू सभापति भुवन महराले बताएका छन।
उनले त्यसपछि ५ वटै टिकट काउण्टरमा ठेली चेक गर्दा २८ वटा नक्कली भेटिएको बताए। टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए । तर, ति २८ वटा टिकट ठेली कहाँबाट महोत्सवमा भित्रिए भन्ने अनुसन्धान भने गरिएको छैन । स्ववियू सभापति महराले टिकट ठेली फरक किसिमको वितरण गरिएको आफैले जानकारी गराउँदा उल्टै आफूहरूलाई टिकट काट्न रोक लगाइएको बताए। उनले आयोजकबाट ति ठेली वितरण भएकाले छानविन नगरी घटना गुपचुप गर्ने प्रयास भइरहेको बताए।
उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले भने टिकट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन। उनले आफूहरूले छड्के चेकजाँच गर्दा नक्कली टिकट ठेली भेटिएको र विवाद बढ्ने हुँदा महोत्सव बिथोलिने बताए । त्यसकारण धेरै कुरा बाहिर नल्याएको अनुसन्धान गरेर दोषीलाई कार्वाही गर्ने बताए। महोत्सव स्थलमा शनिबार पनि आयोजकले नै टिकट काटिरहेका छन । महासचिव खड्काले निर्णय गरेर नै टिकट काट्ने स्ववियू संगको सम्झौता तोडिएको बताए।
यद्यपि टिकट काट्ने सम्झौता तोडिएको बिषयमा आफुहरुलाई कुनै जानकारी नदिई एकपक्षीय निर्णय लिईएको स्ववियु सभापति महराले बताएका छन । अत्तरिया महोत्सवका टिकट काठमाडौंमा छपाइएका थिए । काठमाण्डौबाट सिल प्याक गरेर आउने टिकट महासचिव खड्काको रोहबरमा बुझेर सचिव दीपिन साउदले टिकट ठेली टिकट काउण्टरमा वितरण गर्दै आएका थिए ।
विहीबार २८ वटा ठेली नियन्त्रणमा लिइएको भएपनि महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशका गरिएको छ। विहीबार २८ नक्कली टिकट ठेली नियन्त्रणमा लिदा २ वटा टिकट ठेली काटिएको अवस्थामा भेटिएका थिए। एउटा टिकट ठेलीमा ५० वटा टिकट रहेका छन। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराले नक्कली टिकट ठेली भेटिएको विषयमा छानविन समिति बनाएर अनुसन्धान गरिने बताए।


