धनगढी। नव नियुक्त सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रबिन्द्र केसीले प्रदेशमा प्रहरी कर्मचारीको मुख नभई क्षमता हेर्ने बताएका छन् । प्रदेशको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले सुदुरपश्चिममा प्रहरीको नेतृत्व समाहाल्दै सो कुरा बताएका हुन् ।
गृह मन्त्रालयले सुदूरपश्चिम प्रहरीको नेतृत्व गरिरहेका भरतबहादुर बोहरालाई सरुवा गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डीआईजी केसीलाई जिम्मेवारी दिएको हो। आइतबार सुदूरपश्चिम आएका डीआईजी केसीले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन्। केसीले आइतबार नै पदभार ग्रहण गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
डीआईजी केसीले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा रहदा अपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानसँगै शान्ति, सुव्यवस्था कायम गर्न सबै प्रयास केन्द्रीत गर्ने बताएका छन् ।‘महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पीडितमैत्री सहज प्रहरी सेवामा मेरो जोड रहन्छ । सुशासन, तस्करी, गुण्डागर्दी नियन्त्रण, लागुऔषधविरुद्ध कानुन कार्यान्वयनलाई सशक्त र जनचेतनामुलक अभियानलाई थप प्रभावकारी बनाउछौँ,’ डीआईजी केसीले भने, ‘मुख्य रुपमा प्रविधिमैत्री अपराध, अनुसन्धानलाई जोड दिन्छौँ। अपराध नियन्त्रण र शान्ति सुव्यवस्थामा सम्पूर्ण प्रयास केन्द्रीत गछौँ ।’
केसीले प्रहरी संगठनको आचारण र व्यवहारमा सुधार गर्ने तथा आन्तरिक अनियमितता नियन्त्रण गर्दै चुस्त र दुरुस्त प्रहरी परिचान गरिने बताए। उनले प्रहरी अधिकृत तथा कर्मचारीलाई योग्यता, क्षमता र दक्षताका हिसाबले जिम्मेवारी दिने बताउदै कसैको पनि मुख हेरेर काम नगर्ने प्रतिबद्धता समेत जनाएका छन्।


