धनगढी। राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिदैछ । कार्यकाल सकिनुभन्दा एक महिना पहिले नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्वाचन आयोगले अगामी माघ ११ मा रिक्त हुने सिटका लागि निर्वाचन गर्दैछ ।
त्यसका लागि पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रियसभातर्फ सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका तीन सदस्यको कार्यकाल २० फागुनमा सकिने भएकाले निर्वाचन हुनेछ ।नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका कैलालीका हरिराम चौधरी९उत्सव०, डडेल्धुराका महेश महरा र नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरकी इन्दु कडरियाको पदावधी सकिन लागेकाले तीन सिटका लागि निर्वाचन हुनेछ ।
तीन सिटका लागि उम्मेदवार बनाउन कतिपय राजनीतिक दलले प्रदेशबाट केन्द्रीय कमिटिमा आकांक्षीहरुको नाम पठाइसकेका छन् भने कतिपय छलफलमै रहेको बताउँछन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ९ वटा जिल्लाबाट आएका ८२ जना आकांक्षीको नाम जस्ताकोत्यस्तै केन्द्रीय समितिमा पठाइसकेको जनाएको छ । कांग्रेसले प्रदेश महामन्त्री नरनारायण शाह समेतका ८२ जनाको नाम केन्द्रमा पठाएको हो ।
यस्तै सत्तारुढ गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि देवराज रेग्मी, रेणु चन्द र गम्भीर थापा समेतका २१ जना आकांक्षीको नाम केन्द्रीय कमिटिलाई पठाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश कमिटिले भने केन्द्रीय कमिटिलाई नाम सिफारिस गर्न बाँकी छ । जिल्लाबाट प्रदेशलाई आकांक्षीको सूची आइसकेको र प्रदेश समितिले रायसहित ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटिमा सिफारिस गर्ने जनाएको छ ।
यी बाहेक नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलले पनि राष्ट्रियसभा निर्वाचननलाई लिएर आन्तरिक रणनीति बनाइरहेका छन् भने आकांक्षीहरुको नाम केन्द्रीय कमिटिमा पठाउने तयारी गरेका छन् । राष्ट्रियसभा निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विभिन्न कोणबाट छलफल जारी रहेका बेला प्रदेशमा आकांक्षीहरु पनि आ–आफ्नो ढंगले लबिङमा लागेका छन् ।
सुदूरपश्चिम प्रदेशमा पनि गत बैशाख र मंसिरमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । कांग्रेसले स्थानीय तह र प्रदेशसभामा सबैभन्दा बढि ठाउँमा जितेको थियो । कांग्रेसले ८८ वटा स्थानीय तह मध्ये ४० ठाउँमा प्रमुख तथा अध्यक्ष र ४६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसले १९ ठाउँमा जितेको थियो । आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको सिट रिक्त छ । अहिले प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् ।
निर्वाचन आयोगले राष्ट्रियसभामा स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षको मतभार १९ र प्रदेशसभाका सदस्यको मतभार ५३ कायम गरेको छ । यो हिसाबले कांग्रेससँग स्थानीय तहतर्फ १६३४ र प्रदेशसभातर्फ ९५४ गरेर कुल २५८८ मतर रहेको छ ।
दोस्रो ठूलो दल नेकपा एमालेले स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा २६ ठाउँ र उपप्रमुख तथा उपाध्यक्षमा २४ ठाउँमा जितेको थियो भने प्रदेशसभामा १० जना सांसद छन् । यो हिसाबले उसको मतभार स्थानीय तहमा ९५० र प्रदेशसभामा ५३० गरेर १४८० रहेको छ ।यस्तै तेस्रो दल नेकपा माओवादी केन्द्रले १४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ११ मा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । प्रदेशसभामा सभामुखसहित ११ सांसद छन् । माओवादीको स्थानीय तहतर्फ ४७५ र प्रदेशसभातर्फ ५८३ गरेर कुल मतभार १०५८ छ ।
४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष र ७ जना प्रदेशसभा सदस्य जितेको नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, २ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष जितेको नेकपा एकीकृत समाजवादीको मतभार ३०७ रहेको छ । स्थानीय तहमा दुई प्रमुख र अध्यक्ष तथा एउटा उपाध्यक्ष स्वतन्त्रले जितेका थिए । उनीहरुको मतभार ५७ रहेको छ। प्रदेशसभामा राप्रपासँग एक जना सांसद रहेकाले उसको मतभार ५३ छ भने एक जना स्वतन्त्र सांसदको मतभार पनि ५३ छ ।
यो हिसाबले हेर्दा सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभामा कुल ६१०० सय मतभार रहेकोमा ७३ प्रतिशत अथात् ४४५७ अहिले कायम सत्तारुढ गठबन्धनसँग छ । केन्द्रीय समिकरणअनुसार सुदूरपश्चिममा पनि कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको गठबन्धन रहेको छ । सत्तारुढ गठबन्धनसँग ७३ प्रतिशत मतभार हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग १४८० र राप्रपाको मतभार ५३ मात्र रहेको छ भने स्थानीय तहको ५७ र प्रदेशसभाको ५३ गरेर ११० मतभार स्वतन्त्रको रहेको छ । अहिलेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा पनि प्रमुख विपक्षी दल नेकपा एमाले शून्य हुने अवस्थामा छ भने सत्तारुढ गठबन्धनसँग सुविधाजनक मत छ।
माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले हाल कायम गठबन्धनमा माओवादी केन्द्रले खुल्ला र आपांगतर्फका दुवै सिटमा आफ्नो पार्टीको दाबी रहेको बताए तर केन्द्रमा एमालेसहित राष्ट्रियसभाको निर्वाचनमा जाने कुरा चलेका अहिले यस्तै हुन्छ भन्न नसकिने उनको भनाई छ । सुदूरपश्चिममा फागुनमा रिक्त हुने ३ मध्ये दुई सिट माओवादी केन्द्रकै हो। ती दुवै सिट हामीले पाउनुपर्छ भन्ने दाबी अहिलेको गठबन्धनमा हो, तर, ‘पार्टी अध्यक्ष सम्मानीय प्रधानमन्त्री ज्यूले एमालेलाई पनि समेटेर जाने कुरा गरिरहेकाले परस्थिती कसरी अघि बढ्छ त्यहीअनुसार हुन्छ। अहिले केही भन्न सकिदैन।’ प्रधानमन्त्रीको पहलकदमीले पर्ख र हेरको अवस्थामा सत्तारुढ गठबन्धन रहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना उम्मेदवार जिताउन प्रदेशमा अहिलेको गठबन्धनमा आवद्ध दलहरुसँग छलफल र संवाद गर्ने जनाएको छ । केन्द्रीय समिकरण जे भएपनि प्रदेशमा आफ्ना उम्मेदवार जिताउन आवश्यक सबै रणनीति अवलम्बन गरिने एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले बताए।


