कैलाली। राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट सत्तागठबन्धनका आकांक्षी उम्मेदवार धेरै रहेको पाइएको छ। सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते हुने निर्वाचनमा सत्ता गठबन्धन दलका आकांक्षी उम्मेदवार धेरै देखिएका हुन्।
सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले जिल्ला तहबाट सिफारिस भएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट सोह्र जना,अछामबाट १४ जना, डोटीबाट ११, बाजुराबाट दश जना, बैतडी, दार्चुला र कञ्चनपुरबाट आठ–आठ जना, डडेल्धुराबाट ५ र बझाङबाट अर्जुनजङ्गबहादुर सिंहको नाम आएकोमा सबैलाई सिफारिस गरिएको हो।
यी नाममा पूर्वमन्त्री, सांसददेखि केही नयाँ युवा पनि छन् । यस्तै, सत्तागठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पनि राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ। माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६/६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो ।
उनका अनुसार माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउद(अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ । त्यस्तै, अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ). जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जङ्गबहादुर बिक (डोटी) र सञ्जय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको छ ।
महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लीला कुँवर (दार्चुला) र विमला सिंह (कैलाली)को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालय सचिव भट्टराईले बताए । सत्तागठबन्धनमै रहेका नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा गठबन्धनको निर्णयपछि मात्रै आफूहरूले उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् ।
सत्ता गठबन्धनका चार दलले तालमेल गरेर निर्वाचनमा होमिने तयारी गरिरहेका बेला नेकपा एमाले र राप्रपाले भने अहिलेसम्म एकल लड्ने गरी तयारी गरेका छन् । राप्रपाले प्रत्येक क्लस्टरबाट तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । महिलामा कैलालीबाट जानकीकुमारी कुँवर, कैलालीकै माधवी चन्द र दार्चुलाकी इन्द्रा बोहराको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
खुल्लामा कैलालीका ऐर स्वार, कैलालीकै लीलाराज भण्डारी र अछामका तेजबहादुर विष्टको नाम सिफारिस गरिएको छ । अपाङ्गता तथा अल्पसङ्ख्यकबाट कञ्चनपुरका जयकृष्ण बोहरा, कञ्चनपुरकै जानकीकुमारी महरा र कैलालीका शेरबहादुर बोहरा छन् । केन्द्रको निर्देशनअनुसार तीन–तीन जनाको नाम पठाइएको प्रदेश सचिवालय सदस्य तथा प्रवक्ता छत्र शाहीले जानकारी दिए। नेकपा एमालेले तीनै कलष्टरमा तीन–तीन जना उम्मेदवारको नाम पठाउने तयारी गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताए । तर नाम टुङ्गो लाग्न बाँकी उनले बताए।
सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका तीन जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो । सत्तारूढ गठबन्धन दलहरूबिच अझै सिट सङ्ख्या बाँडफाँटबारे ठोस निर्णय भइसकेको छैन । आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन् । रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ ।


