धनगढी। राष्ट्रिय सभा निर्वाचनको लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ। जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव(कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी।इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो।
उनीहरुको रिक्त हुने स्थानमा पदपूर्तिको लागि नेपाली कांग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस गरेको हो । कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले जिल्लाकै सिफारिसलाई सदर गर्दै केन्द्रमा पठाएको जानकारी दिए । सिफासिस भएको नामावली अनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट १६ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश समितिले जिल्ला तहले पठाएको सिफारिसमा कुनै हेरफेर नगरेर केन्द्रमा पठाएपछि आकांक्षीहरुको दौडधुप बढेको छ । उनीहरु शिर्ष नेताहरुसँग लविंग बढाएका हुन्।
रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ । तर सत्तारुढ गठबन्धन दलहरूबीच अझै सिट संख्या बाँडफाँडबारे ठोस निर्णय भइसकेको छैन । आ-आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन् । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।




