धनगढी। सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई हजार ४९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण वर्षभरि नै भएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार २०२३ को अक्टोबर, सेप्टेम्बर र अगस्टमा सबैभन्दा बढी क्रमशः ५५५, ५०२ र ४८० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो । यस्तै, जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५, मेमा २२, जुनमा ३०, जुलाईमा ९२, नोभेम्बरमा १२० र डिसेम्बरमा २१ जनालाई डेङ्गु सङ्क्रमण भयो ।
पछिल्लो समय चिसो बढेपछि सङ्क्रमण घटेको छ। चिसोमा लामखुट्टेको वृत्ति विकास रोकिने गरेकाले डेङ्गु सङ्क्रमण घट्ने गरेको निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीले बताए ।यस वर्ष कैलालीमा ९९४, कञ्चनपुरमा ३०७, दार्चुलामा २६७ जनालाई डेङ्गु सङ्क्रमण भयो।
अछाममा १७२, हिमाली जिल्ला बाजुरामा ९३, बझाङमा ७२, बैतडीमा ५४, डडेल्धुरामा ५० र डोटीमा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको छ । डेङ्गु सङ्क्रमणका कारण तीन जनाले ज्यान गुमाएको निर्देशनालयले जानकारी दिएको छ । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । यो रोग लागेमा एक्कासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्नेजस्ता लक्षण देखा पर्ने गर्दछ ।


