अछाम। अछामको तुर्माखाँद गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीले आत्महत्याको प्रयास गरेकी छन्। यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिकाकी ती किशोरीले आत्महत्या प्रयास गरेकी हुन्।
यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको भन्दै ती किशोरीले आत्महत्याको प्रयास गरेकी हुन्। पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित जबरजस्ती करणी गरेको आरोप छ। मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए।
घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीरमाथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन्। आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरे माफ गर्नुस् भन्दै फोन गर्न थाले। उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिए।
गाउँमा दुवै पक्षले किशोरीलाई गाउँमा जनप्रतिनिधिसहित अरुले आर्थिक प्रलोभनमा पारेर मुद्दा मिलाउने प्रयास गरिरहे । छोरीले मलाई पैसा चाहिँदैन म माथि आक्रमण गरेर इज्जत लुटेको छ, मलाई न्याय चाहिन्छ भनेको ति किशोरीकी आमाले भनिन् । केटाले सबैका अगाडी मैले केही पनि गरेको छैन भन्न थाल्यो । घटना पनि नस्वीकार्ने र मुद्दामामिला पनि गर्नु हुन्न भन्न थाले। त्यो कुरा छोरीले मानिनन् । गाउँमा सबै मिलेर मुद्दामामिलामा जानबाट रोकेपछि किशोरी आइतबार तुर्माखाँद गाउँपालिकाको कार्यालयमा गएर कानुनी प्रक्रियामा जान खोजेकी किशोरीले कसलाई भेट्ने, के गर्ने मेसो पाइनन् । न्याय खोज्न गाउँपालिका केन्द्रमा पुगेकी किशोरी निराश हुँदै घर फर्केकी थिइन् ।
श्रीमान् घरको कामले तराई गएका, छोराबुहारी बम्बै भएका बेला घरमा छोरी र ममात्रै थियौँ उनले भनिन्। गाउँले सबै एक भएका र छोरीका लागि बोलिदिने कोही नभएको उनले भनिन् । दिउँसो म पनि गोरुबाख्रा चराउन गएँ । साथमा गइदिने अरु कोही भएन। साँझ घर आउँदा मेरो त कोही पनि रहेनछ भनेर आत्तिरहेकी थिइँ।’ उनका अनुसार आँत्तिदै घरपुगेकी किशोरी छट्पटाइरहेकी थिइन् । ‘मेरो शरीरमाथि आक्रमण पनि गर्ने, समाजका मान्छे उल्टै केटाको पक्ष लिने, मेरो इज्जत नै गयो भन्न थाली।
धेरै रोइकराइ गर्न थालेपछि म सम्झाउँदै थिएँ,’ उनकी आमाले भनिन्,‘म खाना पकाउन थालेँ । गाइबस्तुलाई घाँस हाल्न गएका बेला गोठभित्र पासो लगाएर छट्पटाइ रहेको देखेँ र हत्तपत्त पासो काटेको उनले भनिन्। किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए। अहिले किशोरीको उपचार भइरहेको र घटनाको विषयमा थप बुझेर आवश्यक प्रक्रिया थालिने उनले बताए।