धनगढी। स्वास्थ्य, शिक्षा क्षेत्रको सुधार सहितको माग गर्दै धनगढीमा सत्याग्रह थालेका प्रा.डा. गोविन्द केसीले आज अनसन तोडेका छन्।
शुक्रबार धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन सुरु गरेका उनले आज सोमबार धनगढी ७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। प्रा.डा. केसीले सरकारले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नाममा गेटा मेडिकल कलेजलाई अल्मल्याउने काम गरेको बताएका छन्।
तीन दिनदेखि धनगढीमा सत्याग्रहमा रहेका केसीले अनसन स्थगित गर्दै सरकारले गेटा मेडिकल कलेजलाई नबनाउन विश्वविद्यालयको अवधारणा ल्याएको बताएका । ‘यो मेडिकल कलेजलाई हुन नदिने र नीजि अस्पतालहरुलाई सम्बन्धन दिनमात्र सरकारले विश्वविद्यालयका अवधारणा ल्याएको हो’ उनले भने –‘मेडिकल कलेज वा प्रतिष्ठान बनाउन चिकित्सा शिक्षा ऐनले स्पष्ट बोलेको छ।
यो (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) कुन प्रक्रिया पुरा गरि अघि बढेको छ। खाली ऐन बन्दै छ भनेर जनतालाई भ्रममा पार्ने काम गरेको छ।’ उनले चिकित्सा सुधारका लागि लामो समय काम गरेको स्मरण गर्दै ‘अहिलेको जस्तो प्रक्रिया कुनै मेडिकल कलेज वा प्रतिष्ठानमा भएको छैन् । म संग सहमति प्रतिष्ठान बनाउन भएको हो। अहिले एकाएक विश्वविद्यालय कहाँबाट आयो र किन आयो ?’उनले केही तत्वहरु र नेताहरु गेटा मेडिकल कलेज बन्न नदिने गरी लागिरहेको बताए ।
उनले भने –‘म समग्र स्वास्थ्य सुधारका लागि लागिरहेको छु। म सबैलाई सम्मान रुपको स्वास्थ्य उपचार चाहन्छु। त्यसैले गेटा मेडिकल कलेज बनेमा यहाँका मानिसले सर्वशुलभ सेवा, दक्ष जनशक्ति उत्पादन प्राप्त गर्छन । मेरा माग पुरा नभएसम्म अझै अनसन बस्छु।’ डाक्टर केसीले आफुले भर्खरै पत्थरीको अप्रेसन गरेका कारण धेरै अनसन बस्न नमिल्ने भएपछि अहिले स्थगित गरेको बताए। उनले भने –‘मैले बाँचा गरेको थिए। माग पुरा नभए अनसन बस्नेछु । सोही कारण अनसन बसेको हो। अहिले अप्रेसनका कारण धेरै बस्न नमिल्ने भएकाले मैले स्थगित गरेको छु।’ अनसन तोडेका डा. केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।


