कैलाली। प्रदेश राजधानीस्थल भन्ने बितिक्कै कल्पना गरिन्छ होला, सम्पुर्ण पुर्वाधार तथा बिकास भएको क्षेत्र भनेर। कैलालीको गोदावरी भनेपछि बाहिरका मान्छेलाई सुगम भन्ने लाग्छ होला । हो सुगम मानिने कैलालीको गोदावरी अर्थात् सुदुरपश्चिम प्रदेश राजधानी तोकिएको क्षेत्रमा अझै पनी सामान्य पु्र्वाधारले छुन सकेको छैन्।
स्थानियले आधारभूत आवश्यकता महसुस पनी गर्न सकेका छैनन्। बस्ती बसेको झण्डै चार दशकपछि बल्ल बिजुली पुगेको छ। अर्थात् सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानी तोकिएकोस्थल कैलालीको गोदावरी क्षेत्रमा बल्ल अहिले आएर विद्युत् विस्तार भइरहेको हो।
बल्ल अहिले आएर कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर १२ गाउँ बस्तीमा विद्युत् विस्तार भइरहेको हो। अत्तरिया बजारको बिजुली हेरेर जिन्दगी बिताउन वडा नम्बर १२ का स्थानीय बासिन्दा आफ्नै घरमा बिजुलीका चिम बल्न थालेपछि खुसी हुन थालेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १२ सिम गाउँका स्थानीय कर्णबहादुर खत्रीले घरमा विद्युत् जडान भएपछि निकै खुसी भएको बताए। आइतबार उनको घरमै पुगेका प्रदेशसभा सदस्य तुलसी देवकोटा र गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टले विद्युत् स्विच खोलेर सो क्षेत्र आसपासमा विद्युतको शुभारम्भ गरेका छन् । घरमा विद्युत् जडान भएपछि लामो समयको प्रतीक्षा सकिएको र उज्यालोको लागि हामी सोलार, टुक्की मुक्त मात्रै भएको बताए । अब वर्षौँदेखि अँध्यारोमा बस्नुपर्दाका समस्याबाट समेत मुक्त भएका उनले बताए।
विद्युत् नहुँदा स्थानियलाई मोबाइल चार्ज, बिद्यार्थीलाई पठनपाठन गर्न र उज्यालो पाउन समस्या रहेको थियो । अर्का स्थानीय थिरबहादुर कार्कीले बिजुली बलेपछि सहज भएको भन्दै गाउँमा विद्युत् विस्तारपछि निकै खुसी लागेको बताए। आफूहरूको बस्ती पुरानो भए पनि ढिला गरी विद्युतको उज्यालोमा बस्ने सपना पूरा भएको उनले भने। विद्युत् वितरण केन्द्र धनगढीले आइतबारदेखि उक्त वडाका चौकी, सिम,चाप र सल्ली गाउँमा ११ केभी विद्युत् लाइन विस्तार गरेको छ। जसमध्ये सिममा शाखा लाइन विस्तार गरेर ३० घरमा बिजुली बलेको छ भने अन्य ठाउँमा शाखा लाइन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ।
वडाको पहाडी क्षेत्रमा बस्ती छरिएर रहेकोले विकास निर्माणका काम गर्न निकै अप्ठ्यारो रहेको भन्दै गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भीमबहादुर खड्काले विकासको मुख्य आधार विद्युत् विस्तार भइरहेकाले उत्साह थपिएको बताए। सिम गाउँपछि अहिले चाप, सल्लीलगायतका बस्तीमा शाखा लाइन विस्तारको काम जारी रहेको र नाइलमा मुख्य लाइन विस्तारका लागि विद्युत् पोल ढुवानी भइसकेको उनको भनाई छ ।
गोदावरी नगरपालिका प्रमुख भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्ती उज्यालोमा आएको भन्दै अन्य विकास निर्माणका कार्य पनि सङ्घ, प्रदेश सरकारसँग समन्वय गरेर अघि बढाइने जानकारी दिए । उनले सिम,चाप र सल्ली गाउँमा एक सय पचास घरपरिवारमा विद्युत् पुगेकाले अब छिटै असी/बयासी परिवार बसोबास रहेको नायलमा विद्युत् विस्तार गरिने र सबै ठाउँमा विद्युत् विस्तार गर्न अझै ६०० विद्युत् पोल आवश्यक रहेको उनको भनाइ छ। प्रदेशसभा सदस्य तुलसी देवकोटाले विकट गाउँ बस्तीको विकास एकै पटक हुन नसक्ने भन्दै केही समय कुर्न आग्रह गरैकी छिन् । विकटता हेरेर विकासका कामलाई प्राथमिकता दिन उनले जोड दिएकी छिन्।


