दार्चुला। दार्चुलाबाट छोरा भेट्न काठमाण्डौं जाँदै गरेकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो। कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन्। उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पताल बुटबल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बताए। मृतक बमका छोरा काठमाण्डौंमा छन्। हिले मृतक महिलाको शव चौराहा अस्पताल बुटवलबाट पोष्टमाटमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। काठमाडौंमा रहेका छोरा पुगेपछि पोष्टमाष्टम हुने तथा महिलाको शव आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ। शान्तिदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।