धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन्।
धनगढी उपमहानगरपालिका-१६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए ।
माओवादीको रुपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गर्ने र त्यसपछि विधान सम्मेलन गरिने उनको भनाइ छ । विधान अधिवेशनपछि अर्को अभियान सुरु गर्ने र पार्टीको अधिवेशनसमेत गर्ने प्रचण्डले सुनाए । ‘मूलभूत रुपमा अभियान सफल भएको छ। यसले माओवादी पार्टीलाई जनतासँग जोड्ने, आमजनतामा आशा र भरोसा दिन सफल भएको छ’, उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी रवडा अध्यक्ष रामबहादुर चौधरीले वडाको विकासको गतिविधिबारे जानकारी गराउँदै संघीय सरकारबाट उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए। सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी– १६ भादामा आयोजित रूपान्तरण अभियानमा सहभागी हुन घसेटा पुगेका थिए ।