धनगढी। छाडा पशुचौपायाका कारण कैलालीका किसानले सास्ति खेप्नुपरेको छ। पछिल्लो समय छाडा चौपायाको समस्या विकराल बन्दै गएपछि किसानहरु चिन्तित बनेका हुन् ।
खेतबारीमा लगाएको अन्नबाली छाडा चौपायाले सखाप पार्न थालेको किसानहरुले गुनासो गरेका छन् । यो समस्या कैलालीमा मात्र नभइ कञ्चनपुरमा पनि बढ्दै गइरहेको छ । छाडा चौपायाले खेतबारी नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन्। हरेक पालिकामा छाडा चौपाया व्यवस्थापन चुनौती थपीदै गएपनि पनि उचित व्यवस्थापन भने अझै हुन सकिरहेको छैन।
तर सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ। चौपाया व्यवस्थापन गर्न संरचना बनाउने उनीहरूको आहार बिहारको लागि बजेट समेत विनियोजन भएको प्रदेश सरकारले जानकारि दिएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार छाडा चौपाया व्यवस्थापन गर्न कैलाली र कञ्चनपुरमा ७ करोड बजेट छुट्याएको छ ।
छाडा चौपाया राख्न संरचना निर्माण, मल उत्पादन गर्नेलगायत कामका लागि ३ करोड २० लाख बजेट विनियोजन गरिएको छ। यस्तै, कैलाली र कञ्चनपुर जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत दुई करोडका दरले बजेट पनि छाडा चौपाया व्यवस्थापनको नाममा विनियोजन गरिएको छ। यसका लागि सम्बन्धित पालिकाले चौपाया व्यवस्थापन गर्न साझेदारी गर्नुपर्ने छ। सम्बन्धित पालिकाले चौपाया व्यवस्थापनको लागि प्रस्ताव ल्याएको अवस्थामा साझेदारीमा काम गर्ने मन्त्रालयले जनाएको छ। छाडा पशुचौपाया व्यवस्थापनका नाममा यसअघि कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले करौँडौ रुपैयाँ खर्च गरेको भए पनि उचित व्यवस्थापन भने अझै हुन सकेको छैन् ।


