धनगढी। कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव–२०८० सुरु हुँदैछ। ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ आजदेखि महोत्सव सुरु हुने भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन दिउसो २ बजे गर्ने अध्यक्ष कुँवरले बताए। सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिको उद्देश्यसहित सञ्चालन हुँदै आएको महोत्सवमार्फत सरकारसमक्ष विकासका विभिन्न माग प्रस्तुत हुँदै आएको छ।
पहिलो पटक २०६३ सालमा सुदूरपश्चिमको विकासका सवाल समेटेर २१ बुँदे माग सहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको माला लगाइएको थियो । यस पटक १० वटा मागको प्रतिकका रूपमा प्रमुख अतिथीलाई १० किलोको माला लगाइने अध्यक्ष कुँवरले बताए। उनले कलाकारको प्रस्तुती, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा चार सय स्टल रहेको बताए।
महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ। कैलाली उद्योग बाणिज्य संघको आयोजनामा २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको छ।