काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन्। पार्टीको महाकाली-मेची अभियानका क्रममा आज बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवम् अवलोकन गरेका हुन्।
अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नहुनेमा जोड दिए। अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी तत्काल सम्पन्न गनुपर्नेतर्फ ध्यानाकर्षण गराए। अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने जोखिम भएकाले यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गरे।
लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको झण्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउने तथा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने यो आयोजनाको लक्ष्य छ। आर्थिक वर्ष २०७१/७२ देखि निर्माणकार्य सुरु भएको आयोजनाको काम गएको आर्थिक वर्षमै सकिनुपर्ने थियो। तर, भूकम्प, कोरोना महामारीलाई कारण देखाएर आयोजनाको निर्माणमा ढिलाइ हुँदै आएको छ। भेरी बबई डाइभर्सनको अहिलेसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ।