काठमाडौं। नेकपा(एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन सुरु भएको अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरीले बताए।
प्रदर्शनमा सहभागीहरुले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन्। माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल शेयर विक्रीको छानबिन गर जस्ता नारा लेखिएका प्ले कार्ड उनीहरुले बोकेका छन्। अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन्।
एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो । अहिले सो विषय चौतर्फी रुपमा विवादित बनेको छ। यस्तै मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पूँजीगत लाभकरसम्वन्धी एउटा मुद्दाको सुनुवाइ हुँदै छ ।ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो ।
सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाको भाँउतोबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन।आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर ९करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी० मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरेको थियो।
यसरी खरिद बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद अहिलेसम्म पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन । अहिलेसम्म करिब ४७ अर्ब रुपैयाँ पूँजीगत लाभकरका रुपमा तिरिसक्दा पनि मुद्दाबाट उम्किन नसकेपछि आजियटा निराश भएर हिँडेको हो ।