धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा चालु आर्थिक वर्षमा तीन सय बढी आर्थिक अनियमिताका दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा ३ सय ४१ उजुरी दर्ता गरिएको अख्तियारले जनाएको छ । ती उजुरीमा सबैभन्दा बढी ३५ प्रतिशत स्थानीय तहसंग सम्बन्धित छन् । त्यस बाहेक संघ र प्रदेश सहित अन्य सार्वजनिक निर्माण, पद दुरुपयोग लगायतका छन् । अख्तियारका अनुसार सबैभन्दा बढी उजृुरी साउनमा परेका छन् । अख्तियारका अनुसार ती उजुरीमध्ये इमेलबाट ४१, टेलिफोन १६, लिखित निवेदन ४० र हुलाकी सेवा ६४ उजुरी दर्ता भएका छन् ।
अनिमितता विरुद्धका उजुरीको संख्या भदौ महिनामा ८५ तथा असोज महिनमा ८२ गरी तीन महिनाको अवधिमा तीन सय ४१ मुद्दा दर्ता भएको कार्यालयको तथ्यांकले देखाएको छ । सार्वजनिक निर्माण, निर्माणमा अनियमितता, पदीय दुरुपयोग गरेर कामकारबाही गरेको लगायत विषयमा अख्तियारमा उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ । अख्तियारमा परेका उजुरीमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको अख्तियारले बताएको छ ।