धनगढी : सुदूरपश्चिमकै अग्लो हिमाल अपी हिमाल अवलोकनको लागी यो मौसम उत्तम मानिन्छ । शुन्दर अनी मनोरम दृष्य रहेको अपी हिमाल अवलोकनका लागी स्वदेश तथा बिदेशबाट समेत यस समयमा पर्यटकहरु आउने गर्दछन् । ७ हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार ७५७ मिटर उचाइको नाम्पा हिमाल र ६ हजार ६७० मिटर उचाइको ब्यास हिमालको मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ ।
प्रदेशको अस्थाई राजधानी तथा बिमानस्थल समेत रहेको ठाउँ धनगढीदेखी केही टाढा भएकै कारण अपी हिमाल अधिकाशं पर्यटकको रोजाइमा पर्दैन । अपीको दृष्य अवलोकन गर्न इच्छुक पर्यटक समेत यहाँसम्म पुग्न कठिन मान्ने गरेका छन् । तर पछिल्लो समय अपी हिमालमा पर्यटकहरु आउने क्रम बढेको छ ।
७ हजार १३२ मिटर उचाइ रहेको अपी हिमाल अवलोकनका लागी बेस क्याम्पसम्म पुग्न मात्रै धनगढीदेखी एक दिन गाडी र दुई दिन पैदल यात्रा गर्नुपर्छ । दार्चुलाको गोकुले हुँदै पैदल यात्रा शुरु गरेर प्राचीन स्याउजे मन्दिर, महादेव मन्दिर सिती, लटबाब मन्दिर, भवानी पसरौललगायत धार्मिक स्थलहरूको अवलोकन भ्रमण गर्न सकिन्छ । मनोरम दृश्य, मल्देशी कला संस्कृति, आतिथ्य सत्कार र पारिवारिक वातावरणका कारण अपी हिमाल पर्यटकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकलाई स्थानीय पहिरन तथा नाच देखाउने गरिएको अपी हिमाल गाउँपालिका २ की पशुपति कार्कीले बताइन् । उनले भनिन् “हामीले पर्यटकहरुलाई यहाँको लोकल खानपानका परिकार खुवाउने र यहाँको मौलिक पहिरन लगाएर बाजा गाजा सहितको गितमा पर्यटकहरुलाई स्वागत गर्ने गरेका छौँ ।”
पहिलो चरणमा प्रचारप्रसार गर्दै भविष्यमा उत्कृष्ट गन्तव्य बनाउने ध्येय गाउँपालिकाले लिएको छ । होमस्टे तालिम तथा पर्यटक पदप्रदर्शकका लागि ३० जनालाई टुरिस्ट गाइड तालिम दिइएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगत सिहं ठेकरो बोहराले बताए । अपी हिमाल भ्रमणको बाटोमा पर्ने बस्तीहरुमा पर्यटकहरुको सजिलोका लागि होमस्टे संचालनमा रहेका उनले बताए । छिरेछिरे, सिमार र धौलीओडारमा पर्यटक आवास गृह निर्माण भएको गाउँपालिकाले जनाएको छ । पर्यटकहरुका लागी अपी हिमाल बेस क्याम्प सम्म पुग्नका लागी सिढी सहितको पर्यटन पदमार्ग निर्माण गरिएको छ । अपी नाम्पा संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत २५ प्रकारका स्तनधारी जनावर पाइन्छ । त्यस्तै डाँफे, मोना, चील, च्याखुरालगायत २४३ प्रजातिका चराचुरुङ्गी पाइने गरेको अध्यक्ष बोहराले बताए । यीनै जीवजन्तु र चराचुरुङ्गी हेर्न पनि विदेशी पर्यटक पछिल्लो समय उक्त संरक्षण क्षेत्रको अपी हिमालतर्फ पदयात्रा गर्न मन पराउने गरेका छन् । प्राकृतिक ताल तथा अपी संगै अन्य हिमाल अवलोकनका लागी समेत पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।
मनोरम दृष्य सहित प्राकृतिक सम्पदा भएको अपी हिमाल अवलोकन तथा आरोहणका लागी अँझैपनि बिदेशी पर्यटकको रोजाइमा पर्न सकेको छैन । अपी हिमालसम्म पुग्नका लागी सहज पैदल मार्ग संगै सहज रुपमा बास बस्ने वातावरण समेत बन्न नसक्दा बिदेशी पर्यटकको रोजायमा पर्न नसकेको स्थानिय बताउँछन् । स्थानियहरुले अपी हिमाल सम्म पर्यटक तान्नुका साथै ग्रामिण भेगका समस्या सम्बोधनका लागी राखेका मागका आधारमा प्रदेश सरकारले अन्य दुइवटै सरकार संग सहकार्य गरेर बिकासमा हातेमालो गर्ने प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामीले प्रतिबद्धता गरे । भौतिक पुर्वाधारमा सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता गरे ।
मन्त्री धामीले अपि हिमाल हजारौं पर्यटकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । अपिको मनोरम वातावरण सम्म पुग्न देश विदेशबाट पर्यटकहरू पुग्ने र यहाँको पर्यटन विकासमा नयाँ आयाम थपिने उनको विश्वास छ । मन्त्री धामीले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भएपनि तिनको प्रचार प्रसार हुन नसकेको बताए ।
कसरी पुग्ने अपि हिमाल ?
सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये पर्छ, दार्चुलाको अपि हिमाल । अपि हिमाल अपि गाउँपालिकामा नै पर्छ । यस हिमालको उचाइ ७ हजार १३२ मिटर छ । सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलोपटक आरोहण गरिएको अपि हिमालसम्म पुग्न दार्चुला सदरमुकामबाट तीनवटा रुट छन् । अपि हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपि बेस क्याम्पबाट आधा घण्टामा सजिलै पुग्न सकिन्छ । त्यसैगरी, ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणबाट उपयुक्त रहेको छ । सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपि हिमालसम्म पुग्न सकिन्छ । बाटो त्रिदेशीय सीमा क्षेत्रमा पर्ने हुँदा विदेशी आरोहीहरूको प्राथमिकतामा पर्ने गरेको छैन । दोस्रो रुटका रूपमा दार्चुला सदरमुकामदेखि खार, सिप्टी र सितोला हुँदै अपि बेस क्याम्पसम्म पुगिन्छ ।
पर्याप्त दृश्यावलोकन र रमणीय प्रकृतिसँगै यस रुटबाट अपि बेस क्याम्पसम्म पुग्न सकिन्छ । बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा पर्दैन । पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै मकरीगाड, गुल्जर, घुसाको रुट रहेको छ । मकरीगाडबाट २ दिन दिन पैदल यात्रापछि अपि हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ । अपि हिमालसम्म पुग्न आउने पर्यटक र पर्वतारोहीहरूले प्रायः यही रुटलाई प्रयोग गर्ने गर्छन् ।