धनगढी : कम भन्सार मुल्याकंन गरी नेपाल भित्र्याइदै गरेको एक ट्रक कृषी उपकरण सशस्त्र प्रहरीले बरामद गरेको छ । कैलाली भन्सारबाट कम भन्सार मुल्याकंन गरी भित्रिन लागेको भन्दै सशस्त्रले बरामद गरेको हो । आइतबार त्रिनगर भन्सारमा रहेको सशस्त्र प्रहरी ब्यारेलबाटै ट्रक सहित समान बरामद गरिएको हो ।
भारतिय नम्बर प्लेटको युपी ३१ टि ४६५७ नम्बरको ट्रक सहित कृषी सम्बन्धी उपकरण बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक साजेन्द्र श्रेस्ठले जानकारी दिए । भन्सारमा कम मुल्याकंन गरी ट्रक नेपाल भित्रिदै गरेको सुचनाका आधारमा बरामद गरिएको उनले बताए । ट्रक संगै समान मालिक बैरिस्टर गुप्तालाई पक्राउ गरिएको छ । ट्रक बरामद पछि आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक श्रेस्ठले बताए ।
सो समान धनगढी चटकपुर स्थित बालाजी बजरंग ट्रेड एण्ड सप्लायर्सको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बालाजीले भारतबाट आयात गर्ने समानहरु भन्सार संगको मिलेमतोमा कम मुल्याकन गरी भित्र्याउने गरेको सुचना आएपछि सशस्त्र प्रहरीले ट्रक सहित समान राजश्व अनुसन्धान कार्यालय पठाएको हो । सशस्त्र प्रहरीले ब्यारेलबाटै ट्रक सहित समान बरामद गर्दा चालक फरार छन् । ट्रक र समान राखी सशस्त्र प्रहरीले चालकलाई भगाँएको आरोप लागेको छ ।