काठमाडौं। रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन्। कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।
तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन्। उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ। श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका योगराज ढकाल( रिगल) को कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन्। उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् । सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन्।
माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् ।अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु। म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न ।’रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए। कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी चेतनकी श्रीमती भारती अनशन बसेकी हुन्। हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन्। रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।