काठमाडौं। पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए। उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन्।
उनको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल लगायत आर्यघाट पुगेका थिए ।डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्। रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो।
त्यतिबेला मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।२०३० सालतिर स्वर्गीय रामराजा प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा गठन गर्नुअघि उनको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस निकट थियो । उनी मोर्चाबाट २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्किएका थिए ।२०५६ सालमा बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा उनी निर्वाचित भएका थिए।
२०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए। २०७० सालमा भने उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए ।खेमराज पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा पटक–पटक जेलसमेत परेका थिए।क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ता अघि चौथोपटक किमो दिइएको थियो। प्रजातन्त्र र गणतन्त्र प्राप्तिको लागि स्वर्गीय मायालुको योगदान स्मरणीय छ।