धनगढी। विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूको आन्दोलनका कारण सुदुरपश्चिमका ९ लाख जना भन्दा धेरै बालबालिकाको पठनपाठन प्रभावित भएको छ। देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्।
उनीहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढ्ने सुदूरपश्चिमका ९ लाख २१ हजार विद्यार्थीसहित देशका ५३ लाख ८२ हजार जना भन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको हो । अभिभावक र विद्यार्थीलाई विद्यालय बन्दबारे कुनै जानकारी नभएपछि उनीहरु न स्कुल खुलै पो छ कि भनेर विद्यालयसम्म पुगेका थिए । तर, विद्यालय खुला नभएपछि उनीहरु निराश हुँदै घर फर्किएका छन् ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक कार्यरत छन् । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा छन् । बुधबार काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिएका थिए । सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर शिक्षक महासंघको घोषणाअनुसार आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेका छन्।
शिक्षक आन्दोलनका कारण अछामका ४७१ विद्यालयमा पढ्ने ९२ हजार ७२१ विद्यार्थीले अनिश्चित समयसम्म घरमै बस्नुपर्ने भएको छ। बैतडीका ५१३ सामुदायिक विद्यालयमा अध्ययनरत ८२ हजार १६७ विद्यार्थी, बझाङका ४४८ सामुदायिक विद्यालयका ७८ हजार ९६३ र बाजुराका २३८ सामुदायिक विद्यालयका ५४ हजार २३४ विद्यार्थी बिहीबारबाट घरमै बस्नुपर्ने देखिएको छ।सम्पूर्ण शिक्षक आन्दोलनमा उत्रिएपछि डडेल्धुराका २४७ सामुदायिक विद्यालयका ४४ हजार २९५ विद्यार्थी, दार्चुलाका ३४३ सामुदायिक विद्यालयका ४३ हजार ५२६, डोटीका ३८० सामुदायिक विद्यालयका ७७ हजार ३८३ जना विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ।
कञ्चनपुरका २६१ सामुदायिक विद्यालयका एक लाख ५३ हजार ७२६ र कैलालीका ५६६ सामुदायिक विद्यालयका दुई लाख ९३ हजार ९२२ विद्यार्थीको नियमित पढाइ रोकिएको छ। शिक्षक आन्दोलनका कारण सुदूरपश्चिमका एक लाख ३० हजार ७७३ बालबालिकाको नियमित पठनपाठन समेत अबरुद्ध भएको छ। शिक्षक आन्दोलनमा सुदूरपश्चिमका ३२ हजार ५१३ शिक्षकरशिक्षिका विद्यालय शिक्षा विधेयकको विपक्षमा सडकमा उत्रिएका छन्।नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ।
शिक्षा मन्त्रालयले अस्ति मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन। आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाएको महासङ्घले जनाएको छ ।महासङ्घले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।