बैतडी। बैतडी डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक जयबहादुर बोहरा गएको भदौ ५ गतेदेखि बेपत्ता छन्। जिल्लाको लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालयबाटै बेपत्ता भएका थिए।
एक महिनादेखि बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बेपत्ता शिक्षकको अवस्था अझै अज्ञात रहेको बताए। बेपत्ता भएकै भोलिपल्टबाट प्रहरीले उनको खोजी गरिरहेको भएपनि अहिले सम्म फेला पार्न सकेको छैन्।बेपत्ता भएको एक महिना सम्म समेत शिक्षक बोहराको अवस्था अज्ञात रहेपछि परिवारजनमा चिन्ता छाएको छ। शिक्षक बोहराले लगाएको चप्पल भने गन्नीगाड खोलाको छेउमा फेला परेको थियो।
खोला किनारमा चप्पल फेला परेपछि प्रहरीले टोली परिचालन गरेर बेपत्ता शिक्षक बोहराको खोजी गरेको थियो। चमेलिया नदी किनार र महाकाली नदी किनारमा समेत बेपत्ता शिक्षकको खोजी गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। शिक्षक बेपत्ताका बिषयमा हुलियासहित अन्य जिल्लाहरुमा समेत पत्राचार गरिएको बैतडी प्रहरीले जनाएको छ। बेपत्ता शिक्षकको खोजीमा तदारुकताका साथ लाग्न परिवारजनले आग्रह समेत गरेका छन्।