धनगढी। संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दाका तीन जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् ।
तीन ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका पनि ३ जनासहित ९ जना रिहा हुने भएका हुन् ।
टीकापुर घटना मुद्दाका रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जनाए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।
त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन्। विसं २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो। कैलाली कारागारबाट कैदी रिहा हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता, मन्त्री, सांसद स्वागतका लागि धनगढी पुगेका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगेका छन्।


