काठमाडौँ। सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक आयोजना हुने ‘सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिता’ को ट्रफी सार्वजनिक गरिएको छ। फारवेष्ट फिटनेस एण्ड स्पोटर्स क्लबको आयोजनामा असोज १२ र १३ गते धनगढीमा हुने प्रतियोगिताको ट्रफी सोमबारसार्वजनिक गरिएको हो।
दुई विधाका प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई दिइने ट्रफी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोटर्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे। खुला पुरुष शारीरिक र शारीरिक सुगठन खुल्ला गरी दुई विद्यामा खेलाइने प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
यसैगरी दुवै विधामा दोस्रो हुने खेलाडीलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। यसका अतिरिक्त जिन्सी पुरस्कारहरुबाट पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। ट्रफी सार्वजनिक कार्यक्रममा सदस्यसचिव सिंहले प्रदेशमा पहिलो पटक हुन लागेको शारीरिक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषद्ले प्रवर्द्धन गरेर साथ दिएको बताए। उनले यसले खेलाडी उत्पादनमा पनि टेवा पुर्याउने धारणा व्यक्त गरे।
सुदूरपश्चिम प्रदेशमा शारीरिक सुगठनको खेलको जग बसाल्ने, नयाँ खेलाडी उत्पादन गर्ने र लागू औषधको दुर्व्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडीहरुले भाग लिने सक्नेछन्। प्रदेश स्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका सबै खेलाडीले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोटर्स क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिए।